सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि “नमूना गाउँपालिका निर्माण” भन्ने संकल्पसहित बृहत्तर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको बैठकमा हेलम्बु गाउँपालिका १ का वडाअध्यक्ष एवंम आर्थिक बिकास समितिका संयोजक दावा ग्याल्जेन लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेलम्बुको नागरिकहरुकोे जीवनस्तरमा गुणात्मक सुधार ल्याउने, सबै नागरिकलाई पहुँचयुक्त सेवा दिने र समावेशी विकास सुनिश्चित गर्ने लगायतका उद्देश्यहरु सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

🔹 नीति तथा कार्यक्रमका मुख्य आयामहरू
✅ स्वास्थ्यमा जनमुखी कार्यक्रमहरू
५ लाखसम्म निःशुल्क उपचार सहयोग : हेलम्बु गाउँपालिकाले हरेक नागरिकलाई गम्भीर रोगको अवस्था आउँदा “लागत साझेदार प्रणाली” अन्तर्गत ५ लाखसम्मको उपचार खर्च सहयोग गर्ने योजना ल्याएको छ। यो कार्यान्वयनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
दिर्घरोगीका लागि निःशुल्क औषधि र एम्बुलेन्स सेवा : अघिल्ला वर्षहरूमा उपलब्ध गराइएको सेवा निरन्तरता पाउनेछ।
स्वास्थ्य बीमा : जनप्रतिनिधि, कर्मचारी, शिक्षक सबैलाई समेट्दै ६ लाख बराबरको स्वास्थ्य बीमाको योजना ल्याइएको छ।
✅ शिक्षा र सीप विकासमा लगानी
प्राविधिक तथा व्यवसायिक शिक्षामा प्राथमिकता: हेलम्बु बोद्धिसत्व मोडल स्कुललाई शैक्षिक स्रोत केन्द्रको रूपमा विकास गरिने छ। कम्प्युटर, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग अध्ययन हुने वातावरण तयार पारिनेछ।
एकीकृत विद्यालय अवधारणा: पाँच वटा आवासीय सुविधा सहितका नमूना विद्यालय स्थापनाको तयारी गरिएको छ।
छात्रवृत्रि कार्यक्रम: विपन्न र जेहेन्दार विद्यार्थीलाई विदेशमा एमबिबिएस पढ्न छात्रवृत्रि दिइने योजना पनि समावेश छ ।
किचन गार्डेन र दिवा खाजा कार्यक्रम : हरेक विद्यालयमा किचन गार्डेनको स्थापना गरी स्वदेशी उत्पादनबाट पोषणयुक्त खाजा खुवाउने।
✅ कृषि तथा पशुपालनमा आत्मनिर्भरता तर्फको कदम
२ करोड ५० लाख बजेटसहित नमूना कृषि फार्म: च्याउ, आलु, फलफूल र पशुपालनको आधुनिक प्रविधिसहित आत्मनिर्भर कृषि प्रणाली विकास गरिनेछ।
रासायनिक मलमा अनुदान : तल्लो भेगमा रु २६० र माथिल्लो भेगमा रु ३१० को दरले मल अनुदानमा उपलब्ध गराइनेछ।
✅ पूर्वाधार र खानेपानी
मेलम्ची(हेलम्बु खानेपानीमा २५ प्रतिशत लेभी: काठमाडौं उपत्यकामा लैजाने पानीको मूल्यमा २५ प्रतिशत हिस्सा हेलम्बु गाउँपालिकालाई उपलब्ध गराउन सरकारलाई दवाब दिइनेछ।
प्रमुख सडक र वैकल्पिक मार्ग कालोपत्रे: ‘एक वडा एक सडक’ अभियान पनि यथावत रहने।
✅ डिजिटल गाउँपालिका तर्फको पहल
Paperless Government र E-Governance: कार्यालयदेखि विद्यालयसम्म डिजिटल सेवा विस्तार गरिने, घर नम्बर, जनसंख्या, योजना लगायतको डेटा एकीकृत डिजिटल प्रणालीमा सुरक्षित राखिनेछ।
डिजिटल शिक्षण: कक्षा ८ देखि १२ सम्म सबै कक्षामा स्मार्ट बोर्ड र अन्य डिजिटल सामग्रीहरू उपलब्ध गराइनेछ।
✅ जलवायु, विपद् र वातावरणीय संरक्षण
जलवायु न्याय योजनाः हिमाल क्षेत्रको संवेदनशीलता हेरेर जलवायु असर न्यूनीकरण, पुनर्निर्माण र अनुकुलनमा काम गरिनेछ।
जलवायु सम्मेलन : छ्यादी यो गाङ (४६०० मि.उचाइ) मा अन्तरक्रियात्मक सम्मेलन आयोजना गरिनेछ।
विपद् व्यवस्थापन केन्द्र :बाढी, पहिरो जस्ता बहु(जोखिमका लागि पूर्वतयारी केन्द्र निर्माण।
✅ पर्यटन, खेलकुद र संस्कृति प्रवद्र्धन
हेलम्बु हिमालयन ग्रेटट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल): निर्माणाधीन पदमार्गलाई तीव्रता दिइनेछ।
High Altitude Sports Training Centre: सेमराङमा कर्वड हल र ढुंगेमा क्रिकेट खेल मैदान निर्माण ।
हेलम्बु खुला म्याराथन तथा खेलकुद महोत्सव सन्चालन गरिने।
सम्भोटा भाषा र संस्कृत भाषाको संरक्षणः शिक्षण संस्थामा यी भाषालाई प्राथमिकता दिइने र शिक्षकलाई प्रोत्साहनस्वरूप २० हजार मासिक पारिश्रमिक दिइनेछ।
✅ अन्य उल्लेखनीय कार्यक्रमहरू
गर्भवती महिलालाई १० हजार सहायता: यदि मद्यपान तथा धूमपान नगरेको प्रमाणित भएमा ।
संघ(संस्थासँग साझेदारी: गैरसरकारी तथा साझेदार संस्थासँग वार्षिक सम्झौतामार्फत नीति कार्यक्रम कार्यान्वयन गरिनेछ।
प्लास्टिक बहिष्कार: कार्यालयहरूमा तामाका भाँडाको अनिवार्य प्रयोग।
अन्तमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले यस वर्षको नीति तथा कार्यक्रम केवल विकास निर्माणमा सीमित नभई जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो । स्वास्थ्य, शिक्षा, डिजिटल सेवा, कृषि र वातावरण संरक्षणमा गरिएका योजनाले हेलम्बुलाई देशकै नमूना गाउँपालिकाको रूपमा उभ्याउने उहाँको भनाई छ ।




