मेलम्ची, असार १२ – उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगर समितिको अगुवाइमा मेलम्ची नगरपालिकाको टोलीले नगरका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। दुई दिनसम्म चलेको अनुगमनमा नगरपालिकाका वडा नं. ६, ११ र १२ का खाद्यान्न पसल, होटल, मेडिकल, भेटेनरी, बेकरी, मिठाई पसल लगायतका व्यवसायहरूमा निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा सरसफाइ नगरेको, नविकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार नियमविपरीत व्यवसाय सञ्चालन गरेकाले पसललाई सिल गरेर दण्ड–जरिवाना समेत गरिएको छ।
त्यस्तै, अनुगमनकै क्रममा म्याद सकिएका करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको पनि दुलालले बताउनुभयो।
बजार अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च, मेलम्ची नगरपालिका, जनप्रतिनिधि, मेलम्ची नगर उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल प्रहरी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
यसअघि मञ्चले जेठ ५ गते सिन्धु भ्याली र ७ गते मेलम्चीमा स्थानीय उपभोक्ता, व्यवसायी र जनप्रतिनिधिलाई समेटेर उपभोक्ता सचेतना तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो। मञ्चका अध्यक्ष शालिकराम अधिकारीले उपभोक्ताले उपभोग गर्ने वस्तु र सेवाप्रति विशेष सावधानी अपनाउन आग्रह गर्दै उपभोक्ता सचेतना कार्यक्रमहरू निरन्तर चलाइरहेको जानकारी दिनुभयो।



