मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को संयुक्त लागत साझेदारीमा शुक्रबार मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङमा एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) अन्तर्गत आयोजित शिविरमा ३६ जनाको स्वास्थ्य परीक्षण, फिजियोथेरापी सेवा, अार्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच, शल्यक्रिया र डाक्टर परामर्शका लागि रिफरल सेवा प्रदान गरिएको हो।
स्वास्थ्य परीक्षण गरिएकामध्ये १६ जना पुरुष र २० जना महिला रहेका थिए। ५ जनाको अार्थोपेडिक सामग्रीका लागि नाप लिइएको छ भने ३ जनालाई शल्यक्रिया र १ जनालाई विशेषज्ञ चिकित्सकको परामर्शका लागि रिफरल गरिएको छ।
शिविरको उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ,मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, उप–प्रमुख उमा प्रधान, वडा नं. २, ३, ४, ५ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, टुकी संघ सुनकोसीका प्रतिनिधिहरू, नगरका कर्मचारी तथा HRDC का विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो।
अतिथिहरुले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा पुनर्स्थापनाका लागि यस्तो कार्यक्रम प्रभावकारी भएको बताउँदै भविष्यमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

