काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले मधेस प्रदेशको छिन्नमस्ता बाहिनीको नेतृत्व सम्हाल्ने बित्तिकै मातहत सुरक्षाकर्मीहरूसँग कडा निर्देशनका साथ आफ्नो कार्यशैलीको प्रारम्भ गरेका छन्। सशस्त्र प्रहरी संगठनभित्र कडाइ, इमान्दारिता र सक्रियताका लागि परिचित रहेका ढकालको आगमनसँगै मधेसमा नयाँ ऊर्जा, अनुशासन र सुरक्षा रणनीति लागू हुने अपेक्षा गरिएको छ।
कार्यभार सम्हालेकै दिनदेखि डीआईजी ढकालले सबै प्रहरी अधिकारी तथा सुरक्षाकर्मीलाई निर्देशित गर्दै भने, 'आफ्नो कर्तव्यमा कमजोरी गर्नेलाई कुनै छुट छैन। नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमान्दार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता हो।' उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार र तस्करीजस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने स्पष्ट संकेत दिएका छन्।
मधेस प्रदेशको भौगोलिक अवस्थिति अत्यन्तै संवेदनशील छ। भारतसँग खुला सिमाना रहेको हुँदा यहाँ सिमाना सुरक्षा, तस्करी र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालको खतरा अधिक हुन्छ। यसलाई मध्यनजर गर्दै ढकालले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा थप सतर्क, संयमित र सक्रिय रहन निर्देशन दिएका छन्। 'छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै, नेपाली भूमि आतंकवादी वा आपराधिक गतिविधिको केन्द्र नबनोस् भन्ने हाम्रो दृढ संकल्प हो,' उनले बताए।
रातभर अनुगमन, स्थलमै निर्देशन
डीआईजी ढकालले हालै पर्सा, बारा र रौतहटका विभिन्न सिमावर्ती क्षेत्रहरूको रातभर अनुगमन गर्दै स्थलगत निरीक्षण गरेका छन्। उनले आफैं उपस्थित भई सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुका साथै स्थानीय समस्याको स्थलगत मूल्यांकन गरेका छन्। प्रत्येक सुरक्षाकर्मीलाई थाहा छ— डीआईजी जुनसुकै बेला निरीक्षणमा आउन सक्छन्। यही कारण उनको नेतृत्वमा सशस्त्र प्रहरीको अनुशासन र सक्रियता बढेको देखिन्छ।
अनुभवी र सफल नेतृत्व : रौतहटमा प्रशंसनीय काम गरिसकेका छन्
यो डीआईजी ढकालको मधेसमा पहिलो कार्यकाल होइन। अघिल्लो कार्यकालमा उनी रौतहट जिल्लाका प्रहरी प्रमुख (एसपी)को रूपमा कार्यरत थिए। त्यतिबेला उनले सीमाक्षेत्रमा तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्न सफलतापूर्वक नेतृत्व दिएका थिए। त्यसै समय उनले आफ्नो कडाइ र इमान्दारिताका कारण निकै प्रशंसा कमाएका थिए। उनको नेतृत्वमा रौतहटमा व्यापक सुरक्षा सुधार देखिएको थियो, जुन अनुभव अहिले उनले डीआईजीको रूपमा मधेसभर फैलाउने प्रयास गर्दैछन्।
डीआईजी ढकालले स्पष्ट पारेका छन्— केही असामाजिक तत्वहरूले सुरक्षा बललाई बदनाम गर्न झूटा समाचार, आरोप र सामाजिक सञ्जालको प्रयोग गर्ने प्रयास गर्न सक्छन्। तर उनी त्यस्ता गतिविधिबाट नआत्तिने र आफ्नो कामप्रति दृढ रहने बताउँछन्। 'मैले सामाजिक सञ्जालमा प्रशंसा खोजेको होइन, मेरो मापन मेरो कामले गर्नेछ। साँचो देशभक्त नागरिकले राम्रो र नराम्रो छुट्याउँछन्। म निरुत्साहित हुने होइन, उपलब्धिमूलक काम गरेरै देखाउने छु,' ढकालले जोड दिए।
'शून्य सहिष्णुता' नीति अन्तर्गत अपराधमुक्त मधेसको लक्ष्य
उनले सम्पूर्ण सशस्त्र प्रहरी बललाई करछली, तस्करी, आपराधिक गिरोह र अवैध क्रियाकलापहरू विरुद्ध शून्य सहिष्णुता नीति लागू गर्न निर्देशन दिइसकेका छन्। उनले भनेका छन् कि 'अपराध नियन्त्रणमा कुनै राजनीतिक वा सामाजिक दबाब मानिने छैन।'
डीआईजी कृष्ण ढकालको मधेस आगमनसँगै प्रदेशमा सुरक्षा संयन्त्र थप सशक्त हुँदै गएको छ। स्थानीय जनताले अब सुरक्षा क्षेत्रको परिवर्तन महसुस गर्ने अपेक्षा राखेका छन्। अनुशासन, कर्तव्यनिष्ठा र नागरिक सम्मानका आधारमा अगाडि बढ्ने ढकालको नेतृत्वले अबका दिनमा मधेसमा शान्ति, सुव्यवस्था र अपराध नियन्त्रणमा निर्णायक भूमिका खेल्ने देखिन्छ।