श्याम शर्मा (एल.सि) हेलम्बु, सिन्धुपाल्चोक ।
प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हेलम्बु आन्तरीक तथा बाह्य पर्यटकको रोजाईको गन्तव्य हो । हेलम्बुको मनोरम हिमश्रृङखा, शान्त वातावरण, खोला, झरना, पदमार्ग, गुम्बा, मन्दिर यहाँको प्राकृतिक सौन्दर्य हुन् । यस्तै प्राकृतिक सौन्दर्यताले भरीपुर्ण गन्तव्य मध्येको एक हो ब्ल्याल्चे झरना । हेलम्बु गाउँपालिका–७ सुल्सिङमा रहेको ब्ल्याल्चे झरना यतिबेला आन्तरिक पर्यटकको आकर्षणको मुख्य गन्तव्य बन्दै गएको छ । तामाङ्ग संस्कृतिको अर्थ बोकेको ‘ब्ल्याल्चे’ नामले चिनिएको यस झरनाले अहिले प्राकृतिक सौन्दर्यका खोजीमा निस्केका घुमन्तेहरूको ध्यान तान्न थालेको छ।
अहिले झरनासम्म पुग्ने बाटोहरु विस्तार हुँदै गएका छन्, जसले गर्दा पैदल यात्री मात्र नभइ निजी सवारी र समूहगत भ्रमण गर्नेहरू पनि सहजै पुग्न थालेका छन्। काठमाडौंबाट झण्डै ३ घण्टाको यात्रा पश्चात् सहजै पुग्न सकिने र अत्यन्तै सुन्दर तथा शान्त वातावरण भएकाले पनि यो झरना आन्तरीक तथा बाह्य पर्यटकहरूका लागि प्राकृतिक सौन्दर्यताको रसस्वादनका लागि उपयुक्त गन्तव्य बन्दै गएको हो।
पर्यटकहरू विशेष गरी सार्वजनिक बिदामा साथीभाइ वा परिवारसहित झरनाको रमणीयता लिन यहाँ आइपुग्ने गरेका छन् । ब्ल्याल्चे झरनाको चिसो पानी, हरियाली मनोरम वातावरण र शान्त परिवेशले मानिसको मनै लोभ्याउछ । गर्मी मौसममा शीतलताको आनन्द र टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालका लागि आकर्षक तस्बिर, भिडियो बनाउन समेत यो स्थान सुन्दर र मनमोहक रहेको छ।
प्रकृतिसँग रमाउन खोज्ने पर्यटकहरूका लागि ब्ल्याल्चे झरना अहिले प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । छङछङ झरनाको पानीको झनझनाहट, हरियाली मौसम र तामाङ सांस्कृतिको पृष्ठभूमिका कारणले पनि यहाँ पर्यटकहरूको मनलाई लोभ्याइरहेको छ। विशेष गरी गर्मीयाममा शीतलता र शान्ति खोज्दै आउने आन्तरिक पर्यटकहरूका लागि यो स्थान ‘सस्तो, सुरक्षित र सुन्दर’ उपयुक्त गन्तव्य बन्दै गएको हो ।
हेलम्बुमा ब्ल्याल्चे झरना, हिमालयन ग्रेट ट्रेल, आमायाग्री, मेलारेपा गुफा, गुरु रेम्पोछेको ध्यानस्थल, जय बागेश्वरी भगवती मन्दिर लगायत थुप्रै धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षणका पर्यटकीय स्थलहरू रहेका छन् । यी सम्पदाहरूले हेलम्बुलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको गन्तव्य बनाएका छन् । हेलम्बुको प्राकृतिक सौन्दर्यका साथै धार्मिक तथा सांस्कृतिक गहिराइलाई अनुभव गर्न हजारौं पर्यटक हरेक वर्ष यहाँ हेलम्बु आइपुग्ने गरेका छन् । यी क्षेत्रहरूमा ट्रेकिङ्ग, पर्वतारोहण, होमस्टे, धार्मिक तथा अध्यात्मिक पर्यटनको अपार सम्भावना रहेको छ।
हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाका अनुसार “हामीले हाम्रो प्राकृतिक सम्पदालाई जोगाउँदै पर्यटनबाट आम्दानी गर्ने वातावरण बनाउँदैछौं पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक स्थलहरू र हिमाली जीवनशैलीको संगमले हेलम्बुलाई विशेष बनाएको छ ”।
पर्यटनबाट स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा समेत सुधार देखिन थालेको छ । सरकारी तथा गैरसरकारी साझेदारीमा पदमार्ग स्तरोन्नति, सूचना केन्द्र, पर्यटक मैत्री पूर्वाधार विस्तारजस्ता कार्यहरू भइरहेको छन् ।
अतः हेलम्बुको समृद्धि सुनिश्चित गर्न पर्यटन क्षेत्रको दिगो विकास, प्रचार–प्रसार, स्थानीय सहभागिता र पूर्वाधार विस्तार अपरिहार्य छ । हेलम्बु पर्यटनले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउँदै समृद्ध नेपालको एउटा नमुना क्षेत्र बन्ने सम्भावना बोकेको छ । यसका लागि सबैले हातेमालो गर्न आबश्यक छ ।
