सिन्धुपाल्चोक – नेपाली सङ्गीत इतिहासमा “गोल्डेन भ्वाइस अफ नेपाल” भनेर सम्बोधन गरिने सिन्धुपुत्र प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्ती सिन्धुपाल्चोकको चौतारामा मनाइने भएको छ । प्रधानका कालजयी गीतहरुको प्रस्तुतिसँगै स्रष्टा सम्मान गर्दै उनको जन्मथलोमा विशेष कार्यक्रम गरिन लागिएको हो ।
कार्यक्रम २०८२ जेठ २७ गते मङ्गलबारका दिन सहिद स्मृति भवन चौतारामा गर्ने तयारी गरिएको छ । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्तम गरिन लागिएको अध्यक्ष किरण प्रधानले जानकारी दिइन् । किरण स्व. प्रधानकी धर्मपत्नी हुन् ।
पारिवारिक स्रोतअनुसार स्व .प्रधानले आफ्नो स्मृतिमा जन्मभूमिमा केही कार्यक्रम आयोजना गर्न पहिले नै भनेका थिए । सोही अनुसार जन्मस्थल चौतारामा सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गरिन लागिएको पत्रकार सुरेश कसजुले जानकारी दिए ।
दुई वर्षको अन्तरमा आयोजना हुने यो कार्यक्रम चौतारामा हुन लागेको हो । यसअघि काठमाण्डौमा भएको थियो । यस वर्ष २०८२ को लागि चयन गरिएका सम्मानित स्रष्टाहरूलाई क्रमश १ लाख , ५० हजार, ५० हजार र २५ नगद सहित सम्मान गरिनेछ ।
कार्यक्रममा प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२ बाट वरिष्ठ गायिका मीरा राणालाई सम्मान गरिने छ । नेपाली आधुनिक सङ्गीतमा लामो समयदेखि योगदान दिँदै आएकी राणा स्वरको मिठास र शैलीको कारण जनप्रिय गायिका हुन् ।
त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान – २०८२ बाट वरिष्ठ वादक मोहनकृष्ण कार्कीढली सम्मान हुँदैछन् । उनी बेला तथा स्वर बाजाहरूमा विशिष्ट योगदान दिएका कार्कीढली नेपाली मौलिक वाद्यवाद्य विधाका पुराना साधक हुन्।
प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार – २०८२ गायक सुरज कुमार थापालाई प्रदान गरिने आयोजले जनाएको छ । युवा पुस्ताका लागि प्रेरणा बन्न सक्ने स्वरशक्ति र सृजनात्मकता भएका थापालाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यस्तै प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२ पुरस्कार गायक चन्द्र सिं घलेलाई प्रदान गरिन लागिएको छ । कला, संवेदना र प्रस्तुतिमा नवीन स्वाद दिन सक्ने क्षमता भएका घलेलाई विशेष प्रतिभा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।