सुमन ढुङ्गेल
नेपाल आज युवाशक्तिको युगमा छ। जनसंख्याको झन्डै ४३% हिस्सा १६ देखि ४० वर्ष उमेरका युवाहरूले ओगटेका छन्। यो जनसंख्या संरचना देशका लागि सौभाग्य हो—यदि यसको सही सदुपयोग गर्न सकियो भने। तर दुर्भाग्यवश, यही शक्तिशाली वर्ग बेरोजगारी, निराशा र अवसरहीनताको मारमा परिरहेको छ। नतिजा के भयो भने, लाखौं युवा विदेशिन बाध्य छन्—कोही श्रमिक बनेर, कोही विद्यार्थी बनेर, र कोही त बस त्यहाँ जीवनको केही अर्थ खोज्न।
नेपालमा हरेक वर्ष लाखौं युवा श्रम बजारमा प्रवेश गर्छन्। तर रोजगारीका अवसर सीमित छन्। विश्वविद्यालयबाट डिग्री लिएर निस्केका युवाहरूलाई पनि आफ्नो क्षमताअनुसारको काम मिल्दैन। बेरोजगारी मात्र होइन, अर्धबेरोजगारी र अपूरो रोजगारीसमेत उनीहरूमा देखिन्छ। यस्तो अवस्थामा, जब स्वदेशमा सपना साकार हुने वातावरण छैन, तब विदेशी भूमिमा भविष्य खोज्ने निर्णय विवशताजन्य स्वाभाविकता हो।
भन्छन् नि, नेपाल कृषिप्रधान देश हो। तर विडम्बना, आजको दिनमा कृषि गर्नै परे पनि विदेश जानुपर्ने अवस्था आएको छ। जमिन छ, पानी छ, तर आधुनिक प्रविधि, लगानीको पहुँच र नीति समर्थनको अभावले गर्दा कृषिमा लाग्न चाहने युवाहरूलाई पनि परदेश जानु नै विकल्प जस्तो देखिएको छ। यो केवल रोजगारीको संकट होइन, देशको प्रणालीमै गहिरो असन्तुलनको संकेत हो। यदि कृषि नै आधार हो भने, त्यही क्षेत्रमा युवाहरूले आत्मनिर्भर भएर काम गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो।
बिदेश पलायनले देशलाई वैदेशिक मुद्रा त दिएको छ—सन् २०२३ मा मात्र १० खर्ब रुपैयाँभन्दा बढी विप्रेषण नेपालमा आएको थियो। तर के यसले देशको दीर्घकालीन हित सुनिश्चित गर्छ? यो भने गम्भीर प्रश्न हो। पलायनले देशको उत्पादक जनशक्ति गुमाइरहेको छ। विदेशमा पढ्न गएका युवाहरूको ठूलो हिस्सा फर्किँदैनन्, जसका कारण "ब्रेन ड्रेन"को भयावहता अझ तीव्र हुन्छ। गाउँघर खाली हुँदै गएका छन्, वृद्ध अभिभावक बेसहारा हुँदै गएका छन्।
यसबाहेक, पलायनले ल्याएको अर्को तीतो यथार्थ के हो भने, कतिपय युवा बाकसमा फर्किएका छन्। कामको नाममा जोखिमपूर्ण ठाउँमा पुगेका, स्वास्थ्य सुरक्षाविना श्रम गरेका, वा दुर्घटनामा परेका युवाहरू आफ्नो जीवन गुमाएर शवको रूपमा घर फर्किएका अनगिन्ती उदाहरण छन्। उनीहरू सपना बोकेर गएका थिए, तर त्यो सपना अधुरो रह्यो। बाँकी परिवारको जीवनभरको पीडा बनेर बस्यो।
समाजले विदेश गएका युवालाई सम्मान र सफलता दिएको छ, जबकि यही समाजमा बसेर संघर्ष गर्नेहरू उपेक्षित भइरहेका छन्। यो मानसिकता परिवर्तन आवश्यक छ। सफलता केवल विदेश जानुमा छैन, स्वदेशमै केहि नयाँ सिर्जना गर्न सक्नुमा छ।
यसैबीच, सकारात्मक परिवर्तनका संकेतहरू पनि देखा पर्न थालेका छन्। कतिपय गाउँहरूमा अहिले बाटाहरू पिच भएका छन्, सडक सञ्जाल विस्तार हुँदैछ। बिजुली, इन्टरनेट, र सञ्चारको पहुँच पनि बढ्दैछ। हरियाली जंगलहरू अझै बाँकी छन्, प्राकृतिक स्रोतहरू प्रशस्त छन्, अनि स्वच्छ हावापानीमा रमाउने वातावरण अझै पनि जीवित छ। यस्ता स्रोत र सौन्दर्यहरू नै युवाहरूलाई देशमै केही गर्न प्रेरित गर्न सक्ने आधार हुन्।
केही युवाहरू फर्किरहेका छन्, आफ्नै गाउँमा कृषि उद्यम सुरु गरेका छन्, प्रविधिमा स्टार्टअप चलाएका छन्, समाजमा सशक्तिकरणको काम गरेका छन्। राज्यले यस्ता प्रयासहरूलाई सहयोग, प्रोत्साहन र संरक्षण गर्न सक्यो भने, युवाशक्ति देशभित्रै फर्कन सक्छ।
निष्कर्षमा, नेपालमा युवाहरू संकट र सम्भावनाको दोबाटोमा उभिएका छन्। तिनीहरूलाई सही दिशा, अवसर र सम्मान दिन सकियो भने पलायन होइन, प्रगतिको यात्रा सुरु हुन सक्छ। युवाहरू देशको भार होइनन्, उनीहरू देशको भरोसा हुन्—तर त्यो भरोसालाई जिन्दगी दिने जिम्मेवारी अहिलेको नेतृत्वको काँधमा छ।