मेलम्ची — मेलम्चीस्थित जया बहुमुखी क्याम्पस र शिलापोष्ट मिडिया नेटवर्कको संयुक्त आयोजनामा यही जेठ २५ गते (मे २५, २०२५) हुने शैक्षिक छलफल कार्यक्रमले स्थानीय तहमा शिक्षा सुधारको यात्रालाई नयाँ दिशा दिने विश्वास गरिएको छ। मेलम्चीको होटल रिभर साइड इनमा बिहान ९:३० बजे सुरु हुने उक्त कार्यक्रममा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख, उप–प्रमुख, सम्पूर्ण वडा अध्यक्षहरू, साथै तीनै पालिकाका शिक्षा शाखा प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरूको पूर्ण उपस्थिति रहनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा पूर्व शिक्षा सचिव श्री गोपीनाथ मैनाली सहभागी हुनेछन्। उहाँले स्थानीय सरकारका प्रतिनिधिसँग वर्तमान शिक्षा प्रणालीमा विद्यमान संरचनागत कमजोरी, शिक्षाको पहुँच, गुणस्तर, तथा नीति कार्यान्वयनमा देखिएका चुनौतीहरूको सन्दर्भमा प्रत्यक्ष संवाद गर्नेछन्।
क्याम्पस प्रमुख भवानी पौडेलले भने, “हामी शिक्षा मात्र दिन चाहँदैनौँ, परिवर्तनको नेतृत्व गर्न सक्ने सक्षम पुस्ता तयार गर्न चाहन्छौँ। शिलापोष्ट मिडिया नेटवर्कको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम स्थानीय तहसँगको सहकार्यलाई संस्थागत गर्दै शिक्षा प्रणालीलाई व्यवहारिक, समावेशी र परिणाममुखी बनाउने दिशातर्फको ठोस प्रयास हो।”
तीन पालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुखहरू, तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सक्रिय सहभागिता रहने यस कार्यक्रमले गाउँदेखि नगरसम्मको शिक्षा अवस्था बुझ्न, नीति निर्माणमा स्थानीय अनुभवलाई समेट्न, र स्रोत परिचालनका लागि सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रका जानकारहरूका अनुसार, यस्तो बहुपक्षीय संवाद शिक्षा क्षेत्रमै पहिलोपटक स्थानीय तहको यसरी समग्र प्रतिनिधित्व हुने खालको अभ्यास हो।
स्थानीय सरकारको भूमिकालाई सक्रिय बनाएर समुदायमा टेकेर शिक्षा सुधारको बाटो पहिल्याउने यो पहलले अन्य स्थानका शैक्षिक संस्थाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।