मेलम्ची, सिन्धुपाल्चोक — मेलम्ची–हेलम्बु हेडवर्क्स सडक विस्तार तथा कालोपत्रे कार्यका लागि सरकारद्वारा चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस निर्णयसँगै हेलम्बु क्षेत्रका बासिन्दामा विकासप्रतिको आशा झन् बलियो बनेको छ।
यस सडकको स्तरोन्नतिको लागि लामो समयदेखि पहल गर्दै आउनुभएका पुर्व मन्त्री शेरबहादुर तामाङले यो उपलब्धिलाई “दिर्घकालीन संघर्ष र प्रतिबद्धताको प्रतिफल” भन्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो “२०७७ सालमै मेलम्ची–हेलम्बु सडकलाई कालोपत्रे गर्ने दृढ संकल्प लिइएको थियो। त्यसैअनुसार DPR र EIA तयार पारेर २०७८ सालमा टेण्डर प्रक्रियामा लैजाने तयारी पूरा भएको थियो। करिब १ अर्ब बराबरको बजेट प्रस्ताव पनि गरिएको थियो। तर, दुर्भाग्यवश २०७८ साल असार १ गते आएको भीषण बाढीले सम्पूर्ण योजना भताभुङ्ग बनाइदियो। त्यो विपत्तिपछि पनि हामी निराश भएनौं। यो अभियानलाई निरन्तर अघि बढाइरह्यौं। आज सरकारले २५ करोड विनियोजन गरेर हाम्रो सपना साकार बनाएको छ।”
तामाङका अनुसार हाल विनियोजित २५ करोड बजेट बहुवर्षीय योजनाको प्रारम्भिक चरणको रुपमा खर्च गरिनेछ। कार्यान्वयनको क्रममा आवश्यक परे थप बजेटसमेत विनियोजन गरिने जानकारी समेत दिनुभएको छ। यो आयोजनाले अन्ततः १ अर्बभन्दा बढीको लगानीमार्फत मेलम्ची–हेलम्बु सडकलाई स्तरीकरण गर्ने अपेक्षा गरिएको छ।
सडक निर्माण तथा स्तरोन्नतिपछि मेलम्ची–हेलम्बु क्षेत्रको पर्यटन, कृषि, शिक्षा र स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्ने स्थानीयवासीहरू बताउँछन्। लामो समयदेखि विकासमा पछाडि पारिएको यो क्षेत्रको समग्र उन्नयनमा यो सडकको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ।
पुर्व मन्त्री तामाङले मेलम्ची–हेलम्बुबासीहरूलाई शुभकामना दिँदै थप भन्नुभयो “हाम्रो एकताको शक्ति र निरन्तर प्रयासले आज यो अभियान सार्थक भएको छ। यो केवल सडक मात्र होइन, हामी सबैको आशा र भविष्यसँग जोडिएको योजना हो।”
यस ऐतिहासिक निर्णयका लागि मेलम्ची–हेलम्बुवासीहरूले सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।