"समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा" भन्ने नाराका साथ राष्ट्रिय युवा परिषद् भक्तपुरको आयोजनामा तथा मेलम्ची नगरपालिकाको समन्वयमा तीन दिने लागूपदार्थ तथा मादक पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि युवा स्वयंसेवक विकास तथा परिचालन कार्यक्रम सुरु भएको छ।
कार्यक्रमको उद्घाटन मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले विदेश जाने होडमा लागिरहेका युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा युवाको उपस्थिति र भूमिका अझ बढी आवश्यक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
"युवाहरू नै आजका सचेत नागरिक हुन्। दुर्व्यसन नियन्त्रणमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ," उपप्रमुख प्रधानले भन्नुभयो। उहाँले ‘अहिले म केही गर्छु’ भन्ने सोच भएका युवा भेट्न गाह्रो भएको धारणा राख्दै स्थानीय तहबाट स्वदेशमै रोजगार सिर्जना गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।
मेलम्ची नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण मुरारी चौलागाईं, सरस्वती माध्यमिक विद्यालय, भोटेचौरका प्रधानाध्यापक पदम कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रम राष्ट्रिय युवा परिषद्का प्रशासन प्रमुख गेहनाथ गौतमको अध्यक्षतामा तथा परिषद्का शाखा प्रमुख कल्पना खनालको सञ्चालनमा सम्पन्न भएको थियो।
तीन दिने प्रशिक्षणमा मेलम्ची नगरपालिका वडा नं. १, २ र ३ का करिब ६० जना युवा तथा विद्यार्थीहरू सहभागी छन्। प्रशिक्षणमा उद्यमशीलता, सामाजिक सहभागिता र स्वरोजगार लगायतका विषयमा प्रशिक्षक धनिकलाल राय ठाकुर, राम चौलागाईं, यम बहादुर ज्योती लगायतले प्रशिक्षण दिने वडाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो।


