काठमाडौं । नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बौद्धिक परिषद नेपालले आगामी कार्ययोजना सार्वजनिक गरेको छ । परिषदको राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको दोस्रो बैठकले तय गरेको कार्ययोजनालाइ पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । जुन कार्ययोजनामा देशको, एमालेको आगामी बाटो तथा बौद्धिक परिषदको कार्यक्रमहरु समेटिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै बौद्धिक परिषदका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियाले देश निर्माणको लागि बौद्धिक समुह सशक्त भएर लाग्ने बताउनु भयो । आफुहरु कार्यान्वयन गर्ने स्थानमा नभएपनि सहि बाटो देखाउने ठाउँमा रहेकोले देश निर्माणको लागि सरकारलाइ सहि बाटो देखाउने बताउनु भएको हो ।
नयाँ नेतृत्व चयन भएपछि प्रचार सचिवको जिम्मेवारी पाउनु भएकी डा टिका ढकालले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा
"देशभरिका देशभक्त, प्रगतिशील र द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने बौद्धिक व्यक्तित्वहरूको सङ्गठन नेपाल बौद्धिक परिषद्ले 'सकारात्मक सोच-सुखी नेपालीको आधार, आर्थिक सामाजिक रुपान्तरण-मुद्धिजीवीको कार्यभार' भन्ने मुल नाराका साथ २०८२ जेठ १७-१८ मा सम्पन्न ११ औं राष्ट्रिय अधिवेशनपश्चात निर्वाचित कमिटीको २०६२ असार २८ गते, काठमाडौमा बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले नेपाल राष्ट्रको हीत, पार्टीको अभियानमा सहयोग तथा बौद्धिक परिषद्को क्षमता विस्तारलाई केन्द्रीत गरी बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो पत्रकार सम्मेलन आयोजना गरिएको हो" भनिएको छ ।
नेपालको आगामी बाटोको रूपमा
नागरिक सर्वोच्चता तथा संधीय राज्य प्रणाली सहितको नेपालको संविधान २०७२ एक दशकदेखि क्रियाशील छ । देशमा लोकतन्त्र स्थापनापश्चात भौतिक तथा आर्थिक सामाजिक विकासले तिव्रता लिएको छ। नेपालको इतिहासमै सचभन्दा रफ्तारमा देश प्रगतिको मार्गमा हिडिरहेको वर्तमान अवस्थामै विडम्वनास्वरुप जनतामा अत्यधिक निराशा छ र त्यो निराशाले व्यवस्थाप्रति प्रश्न उठाउन थालेको देखिन्छ। विशेषगरी युवा पक्तिहरु विभिन्न सामाजिक माध्यममार्फत राजनीती र देशप्रति वितृष्णा पोखिरहेका छन्। नीति बनाउने थलो संसदमा सांसदको भूमिकाप्रति पनि आशंका जन्माउने कयौ दृष्टान्तहरु देखिएका छन् । विभिन्न अध्यादेशहरु संसदमा गएर लामो समय रोकिने र पारित भएर आएका ऐनप्रति पनि जनताको तहमा असन्तुष्टि देखिन्छ । विभिन्न मन्त्रालयहरुमा र राज्य संचालनमा चाहिने विभिन्न नीति नियमहरुको गहन अध्ययन अनुसन्धान गर्नुपर्ने कुरा नेपाल बौद्धिक परिषद्ले महशुस गरेको छ। अबका दिनमा परिषद्ले ती बनाउनु पर्ने र बनेका नीति नियमहरुको अध्ययन अनुसन्धान गरी पार्टीलाई उपयुक्त सुझाब दिने र पार्टीको माध्यमबाट व्यवस्थापिका र कार्यपालिकाको कार्यक्षमता अभिवृद्धि गराउने काममा योगदान गर्नुपर्नेछ ।
साथै, विद्यमान राजनीतिक प्रणालीमा प्रवेश संगै नेपाल र नेपाली जनताले हासिल गरेका सफलताका कथा, तथ्य, तथ्यांक र उपलब्धिलाई जनताले बुभने भाषा र शैलीमा बताउनुपर्ने आवश्यकता छ। यस विषयमा काम गर्न विषय विज्ञको समूह सहित अगाडि बढ्ने कार्ययोजना अगाडि बढाईनेछ ।
त्यसै गरि नेकपा (एमाले) को आगामी बाटोको रूपमा नेपाल र नेपालीको सर्वाणि विकासका लागि योजना, सपना र प्रतिवद्धता भएको नेपालको एक मात्र पार्टी नेकपा (एमाले) को दोश्रो विधान अधिवेशन तथा एघारौ राष्ट्रिय महाधिवेशनको समिपमा छौ। यतिबेला नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ। नेता, कार्यकर्ता र जनताको यस पार्टीप्रति आकर्षण बढाउन, सिजर्नशीलता र लगनशीलताको विकास गराउन, संसदमा बहुमत सहित राष्ट्रको आमुल परिवर्तन गर्न सक्ने शक्ति बनाउन बौद्धिक परिषद्ले पार्टीका सबल तथा पार्टीभित्र सुधार गर्नुपर्ने पक्षहरु जनताबाट खोज अनुसन्धान गरी पार्टीमा वास्तविक अवस्थाको चित्रण गर्नुपर्नेछ। 'नेकपा (एमाले) को आगामी बाटो' शिर्षकभित्र पार्टीलाई उपर्युक्त सुझाव दिने गरी आवश्यक बौद्धिक व्यक्तित्वहरुको सहयोगमा अगाडि बढ्ने कार्ययोजना ल्याईनेछ । र, पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान गरिने बताइएको छ ।
नेपाल बौद्धिक परिषद्को आगामी बाटो
'मार्क्सवादी स्कुल' नियमित रुपमा सञ्चालन गर्ने, दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरुको सम्मेलन आयोजना गर्ने, 'समृद्ध नेपाल, सुखी नेपाली'को विस्तृत अवधारणा निर्माण गर्ने, 'बौद्धिक बहस'लाई विस्तारित गर्ने, सांगठनिक गतिविधिहरुलाई अभिलेखिकरण तथा प्रोत्साहन गर्न ई-बुलेटिन प्रकाशनगर्ने, नियमित रुपमा ई-भर्सनमा 'बौद्धिक आवाज' प्रकाशन गर्ने,
दोश्रो अधिवेशन सम्पन्न गरिसकेका बागमती र मधेश प्रदेश बाहेकका ५ बटा प्रदेशहरुको अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गर्ने, नेपालको समृद्धि र राष्ट्रिय जीवनमा योगदान गर्न सक्ने नेपालका बौद्धिक व्यक्तित्वहरुको रोस्टर बनाउने, परिषद्का विभिन्न कमिटी, अध्ययन केन्द्र तथा विभागहरुको क्रियाशिलता तथा परिषद्को उद्देश्य प्राप्तिका लागि गरिने, क्रियाकलापहरुको वैज्ञानिक विधिबाट मूल्यांकन गरी आगामी १२ औं राष्ट्रिय अधिवेशन उत्कृष्ट कमिटी, विभाग तथा अध्ययन केन्द्रलाई पुरस्कृत गर्ने भनिएको छ । सांगठनको अन्य योजनाहरुमा अन्तर अध्ययन केन्द्र अन्तरक्रिया गर्ने, विषय केन्द्रीत बहस, अन्तरक्रिया, कार्यशाला,
पार्टी तथा जनसंगठनका आयोगहरुबीच अन्तरक्रिया गर्ने, अन्तर प्रदेश अन्तरक्रिया गर्ने, अन्तर विभाग अन्तरक्रिया गर्ने, राष्ट्रिय कार्यशाला गर्ने, प्रज्ञान्तरण प्रकाशन गर्ने, जर्नल प्रकाशन गर्ने, राष्ट्रिय प्रतिनिधि परिषद् गाठन गर्ने, विषय केन्द्रीत अन्तरक्रिया, सेमिनार, कार्यशाला गर्ने, पालिका गठन तथा अधिवेशन गर्ने, प्रदेश अधिवेशन (बागमती र मधेश प्रदेश बाहेक सबै।
प्रदेश तथा जिल्लाका गतिविधि प्रकाशन गर्ने भनिएको छ ।
बैठकले नेपाल बौद्धिक परिषद्को सचिवालयमा १० सदस्य थप गरी १९ सदस्यीय सचिवालय गठन गरेको, केन्द्रीय कमिटीमा ११ सदस्य थप गरिएको छ भने
सल्लाहकार परिषद् २४ जना मनोनयन गरिएको छ । 'समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा हासिल गर्न नेपात्त बौद्धिक परिषद्को सम्पूर्ण सामर्थ्य उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
### नेपाल बौद्धिक परिषद्को दोश्रो केन्द्रीय कमिटीले पारित गरेको समसामयिक प्रस्तावहरु
नेपाल बौद्धिक परिषद् देशभरिका बामपन्थी, देशभक्त, प्रगतिशील र द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने बौद्धिक व्यक्तित्वहरूको सङ्गठन हो। सकारात्मक सोच, सुखी नेपालीको आधार, आर्थिक सामाजिक रुपान्तरण बुद्धिजीवीको कार्यभार, भन्ने मुल नाराका साथ हालै सम्पन्न परिषद्को ११ औ राष्ट्रिय महाधिवेशन पश्चात सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकमा देशको समसामायिक राजनीति, अन्तराष्ट्रिय परिवेश, विकास र समृद्धि, आर्थिक-सामाजिक रूपान्तरण र सामाजिक न्यायजस्ता विषयमा गम्भीर छलफल भएको छ । बैठकमा भएका छलफलका निष्कर्षहरुलाई समावेश गर्दै बौद्धिक व्यक्तित्वहरूको दायित्व र उनीहरूले निर्वाह गर्नुपर्ने भूमिका सहितको कार्ययोजना तयार गर्दै परिषद्को बैठकबाट तपसिल बमोजिमका समसामयिक विशेष प्रस्ताव जारी गरिएको छ ।
१. नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक बर्ष पुरा भएको छ। यो अबधिमा सरकारले राजनीतिक स्थिरता, विकास र समृद्धिका क्षेत्रमा महत्वपूर्ण उपलव्धीहरु हासिल गरेको छ । सरकारले बनाएको लगानीमैत्री नीति र वातावरणका कारण लामो समयदेखि समस्याग्रस्त रहेको आर्थिक क्षेत्रका १८ वटा सुचकहरुमा सुधार आएको छ। गतवर्ष भन्दा ठूलो मात्रामा राजस्व संकलन भएको छ । दशरथचन्द मेडिकल कलेज कैलाली (गेटा कलेज) सुचारु गर्ने, दैलेखमा पेट्रोलियम पदार्थको पहिचान गर्नुका साथै भौतिक पूर्वाधार तथा विकास निर्माणमा हुने गरेका ढिलासुस्तीलाई चिर्दै नवलपुरमा बनेको वेली ब्रिज, ग्वार्को ओभर पास, सुरुंग मार्ग र टियु क्रिकेट रंगशाला तथा हुम्लालाई पहिलो पटक सडक सञ्जाल जोड्ने गरी निर्माण गरिएको पुल जस्ता महत्वपूर्ण संरचनाहरुको निर्माण भएका छन् । सरकारको यस प्रकारको भूमिकाले नेपाली जनतामा आशा र विश्वास जगाउने काम भएको छ । साथै सरकारले अगामि दिनमा राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय, विकास, समृद्धि र जनजीवीकाका सवालहरुलाई प्राथामिकतामा राखेर अगाडि बढ्न नेपाल बौद्धिक परिषद्को यो बैठक हार्दिक अनुरोध गर्दछ
२. अहिले विभिन्न पार्टी, समूह र व्यक्तिहरु विभिन्न स्टन्ट गर्ने, सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण सूचना प्रवाह गर्ने, कानुनी शासनलाई उपहास गर्ने, भीडको आडमा कानुन, प्रशासन, र अदालतलाई प्रभावित पानं खोज्ने, जुनसुकै विषयमा पनि नकारात्मक टिप्पणी गर्ने काममा केन्द्रित भएको देखिन्छ । यसले नेपाली समाजमा राजनीति तथा समाजप्रति वितृष्णा, निराशा र आक्रोश बढाउने र दीर्घकालिन रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिनै वितृष्णा फैलाउने जोखिम देखिन्छ । भविष्यमा आउन सक्ने यस्ता जोखिमलाई ध्यान दिएर अगाडि बढ्न परिषद्को यो बैठक नेपाल सरकार, राजनीतिक दलहरु, मिडिया, नागरिक समाज र आम बुद्धिजीवीहरुसमक्ष हार्दिक अनुरोध गर्दछ ।
३. हामी यही भाद्र २० देखि २२ मा आयोजना गरिने नेकपा (एमाले) को विधान महाधिवेशनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक छ। यससँग जोडिएका विभिन्न विषयमा बहसको थालनी पनि भएको देखिन्छ । मुलत सामाजिक सञ्जाल केन्द्रित देखिएको यो बहस कतिपय सन्दर्भमा अस्वच्छ र असान्दिर्भक समेत देखिएको छ । यसले पार्टीभित्र गुटबन्दी र अराजकता बढ्ने र अन्ततः पार्टी मात्र हैन समग्र आन्दोलन र राष्ट्रलाई समेत क्षति पुग्ने देखिन्छ । यसैले विधान महाधिवेशन केन्द्रित बहस हार्दिकतापूर्ण रुपमा स्वच्छ, व्यवस्थित र विधिसम्म रुपमा पार्टीका आधिकारिक मञ्चहरुमा गर्नुपर्ने आवश्यकता छ । यस्तो परिवेशमा सम्पन्न हुन लागेको विधान महाधिवेशनलाई पार्टीको नीति, विधि, कार्यदिशा सहित देशको संविधान र संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत योगदान गर्ने गरी सम्पन्न गर्न परिषद्को यो बैठक आम पार्टी पक्ति समक्ष हार्दिक अपिल गर्दछ ।
४. नेपाली जनताको लामो समयको त्याग, समर्पण र बलिदानले स्थापित भएको सघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले निरन्तर प्रहार गरिरहेका छन्। नेपाल बौद्धिक परिषद्ले प्रतिगामी शक्तिहरुको यो हर्कतको भर्त्सना गर्दै नेपाली जनताको भावाना र भाविष्यमाथि खेलवाड नगर्न सम्बन्धित पक्षहरुलाई चेतावनी दिन चाहन्छ ।
५. लामो समयको संघर्ष पश्चात देशमा ठूलो परिवर्तन भएता पनि त्यसको प्रतिफल जनताको जीवनसँग जोडिन नसक्दा अहिले जनतामा निराशा र आक्रोस बढ्दै गएको देखिन्छ । संविधानको प्रभावकारी कार्यान्वयनको अभाव, शासकीय स्वरुप, निर्वाचन प्रणाली सहित सबैधानिक र कानुनी व्यवस्थामा भएका कतिपय कमी कमजोरीका कारण देखिएको राजनीतिक अस्थिरता, रोजगारीको अभावमा बढ्दै गएको वैदेशिक रोजगारी र पलायन, भ्रष्टाचार, कानुनी शासनको अभाव जस्ता कारणले यस प्रकारको निराशा र आक्रोश बढेको देखिन्छ । अतः परिषद्को यो बैठक संविधानको प्रभावकारी कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थालाई संस्थागत तथा दिगो बनाउने र परिवर्तनका उपलब्धिलाई आम जनताको जीवन पद्दतिसँग जोड्दै विकास र समृद्धिमा अगाडि बढ्न नेपाल सरकार र सबै राजनीतिक दलहरुलाई हार्दिक अपिल गर्दछ ।
६. निरन्तर बढिरहेको वैदेशिक पलायनलाई रोक्न, देशभित्रै रोजगारीका अवसर सृजना गर्न, समृद्धिको मुख्य आधारका रुपमा रहेको कृषि क्षेत्रलाई प्राथामिकतामा राख्न, संवैधानिक हकका रुपमा रहेको भूमि र आबासको व्यवस्थालाई कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विकासका क्षेत्रमा जोड्नका लागि सार्वजनिक नीजि अवधारणालाई प्राथामिकतामा राख्ल, आम नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने जनजीविकाका सवालप्रति गम्भीर बन्न, मुल्यवृद्धि नियन्त्रण गर्न, स्वस्थ्य र शिक्षामा सर्वसाधारण नागरिकको सहज पहुँच पुऱ्याउन, पछाडि परेका सीमान्तकृत समुदायको उत्थान गर्न र संविधानप्रदत्त मौलिक हकहरूलाई व्यावहारिक रूपमा सुनिश्चित गर्न परिषद्को यो बैठक नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।
७. अहिलेको विश्व, पूँजीवादी एकाधिकार र यसबाट सिर्जित शोषण र दमनबाट प्रभावित भएको देखिन्छ । यसको प्रमाणका रुपमा लामो समयदेखि जारी रूस-युक्रेन तथा इजरायल-गाजा-इरानका बीचको युद्धलाई लिन सकिन्छ । सिङ्गो विश्वलाई आतङ्कित, त्रसित र मर्माहत बनाएको युद्धले ठूलो जनधनको क्षतिमात्र भएको छैन, विश्वमा साम्राज्यवाद, सैनिकीकरणको प्रभाव समेत बढेको छ । यसले नेपालजस्ता अति कम विकसित देशहरूमा गम्भीर प्रकारका असरहरू परेका छन्। अतः परिषद्को यो बैठक द्वन्द्वरत पक्षहरूलाई यस प्रकारका युद्दलाई अन्त्य गरी विश्वमा शान्ति र न्याय स्थापना गर्न हार्दिक अपिल गर्दछ ।
८. अहिले नेपाल मनसुनको असरबाट प्रभावित भएको छ । रसुवाको रसुवागढी क्षेत्रमा आएको बाढीले अकल्पनीय क्षति पुगेको छ। बाडीबाट करिब एक दर्जन व्यक्तिहरुको मृत्यू भएको छ भने कतिपय व्यक्तिहरु बेपत्ता अवस्थामा छन् । नेपाललाई चीनको तिब्बत जोड्ने भन्सार नाकाको पुल र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यसै गरी देशका विभिन्न भागमा गएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको छ । दुःखको यस घडीमा परिषद्को यो बैठक मृतकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीर्घ स्वस्थलाभको कामना गर्दछ। साथै वाढी पहिरोबाट हुन सक्ने जनधनको क्षतिलाई रोक्न, बेपत्ताहरुको खोजी गरी पीडितहरुलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउँदै उनीहरुको प्रभावकारी पुनःस्थापना गर्न परिषद्को यो बैठक नेपाल सरकार सहित अन्य सबै सरोकारवालाहरुसँग हार्दिक अपिल समेत गर्दछ ।